धादिङ ०६ आषाढ
गरौँ योग रहौ निरोग, सबैको लागि सधैका लागि योग भन्ने मूल मन्त्रका साथ पाँचौँ अन्तराष्ट्रिय योग दिवस धादिङमा भव्य रुपमा मनाइएको छ । स्वास्थ सम्बृद्धि र खुसी रहनको लागि आध्यात्मिक, शारीरिक र मानसिक रुपमा आफू स्वस्थ रही आफ्नो परिवार, समाज र राष्ट्र निर्माणको लागि सकारात्मक सहयोगको भूमिका निर्वाह गर्नको लागि अन्तराष्ट्रिय योग दिवस भव्य रुपमा आयोजना भएको हो ।
पतञ्जली योग समिति धादिङको समन्वय र पाँचौँ अन्तराष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा भएको २१ जुन अर्थात पाँचौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार बिहान ५ः३० बजे पुछार बजारबाट प्रभातफेरी ¥याली सुरु गरी सिरान बजारमा रहेको धादिङ बोर्डिङ स्कुलको प्राङ्गणमा समापन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको अध्यक्षतामा भएको समारोहमा प्रहरी प्रमुख राजकुमार बैदवार, शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्य, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, पतञ्जली योग समिति धादिङका अध्यक्ष गोविन्द श्रेष्ठ, धादिङ आवासीय माध्यमिक विद्यालय व्यवस्थाप समितिका अध्यक्ष बाबुराम अधिकारी, प्रधानाध्यापक हरि लम्साल, ब्रह्माकुमारी राज योग केन्द्र धादिङ र पतञ्जली योग समिति धादिङका करिब २ सय भन्दा बढी योग साधकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले स्वस्थ जीवनका लागि योग अत्यन्तै आवश्यक रहेको र धादिङ जिल्लामा योग अभ्यासलाई व्यवस्थित बनाउनका लागि योगा अभ्यास गर्ने हलको बन्दोबस्त गर्न आफूले विशेष पहल गर्ने समेत बताउनु भयो ।
कार्यक्रममै योग गुरु केशव थपलियाले योगाको महत्त्व र यसको आवश्यकताका बारेमा सहभागीहरुलाई प्रशिक्षित गराउँनुका साथै योगाका केही आशन समेत गराइएको थियो । समारोहमा बह्माकुमारी राजयोग सेवा केन्द्र धादिङको सक्रियतामा सहभागीहरुलाई अङ्कुरित भोजन समेत गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस