नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुर थिमिको बोडेमा आयोजित दुई दिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उनले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी गराएको बताएका हुन् ।
उनले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले नेकपा समाजवादीमा आउनेको देशव्यापी लहर चलेको उल्लेख गर्दै राम्रो संस्कार जति समाजवादीमा ल्याएको र आउने क्रम जारी रहेको बताए । आज सम्पन्न हुने भेलाले घोषणापत्र जारी गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस