धादिङ ०३ मङ्सिर
प्रेस सेन्टर नेपाल, धादिङको अध्यक्षमा राजन अधिकारी निर्वाचित भएका छन् । शुक्रबार गजुरीमा भएको तेस्रो जिल्ला सम्मेलनले अधिकारीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा शिव प्रसाद देवकोटा(सञ्जय) महिला उपाध्यक्षमा गीता अधिकारी, सचिवमा सुमन अधिकारी, सह–सचिवमा बिमल तामाङ र सन्दिप स्याम्चेनका साथै कोषाध्यक्षमा भूमि प्रसाद त्रिपाठी(सम्भु) निर्वाचित हुनुभएको छ ।
यस्तै सम्मेलनले केन्द्रीय प्रतिनिधिमा ६ जना र प्रदेश प्रतिनिधिमा १० जनालाई निर्वाचित गरेको छ । सम्मेलनले संगठनको जिल्ला इन्चार्जको जिम्मेवारी बद्रि अधिकारीलाई दिने समेत निर्णय गरेको छ । प्रेस सेन्टर नेपाल, धादिङका संयोजक राजन अधिकारीको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथिमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज सालिकराम जम्कट्टेल रहनुभएको थियो ।
यस्तै प्रेस सेन्टर नेपाल बागमती प्रदेशका इन्चार्ज लक्ष्मण खड्का, नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश सदस्य एवं नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, प्रेस सेन्टर नेपाल बागमती प्रदेशका संयोजक सुनिल खड्का, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी, गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गाना, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
सम्मेलनकै अवसरमा नेपाल पत्रकार महासंघमा प्रेस सेन्टर धादिङबाट प्रतिनिधित्व गर्ने कोषाध्यक्ष शिव प्रसाद देवकोटा, सह–सचिव उपेन्द्र जम्कट्टेल, सदस्यहरु सुमन अधिकारी र विक्रम अधिकारीलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस