धादिङ २९ कार्तिक
महिलाको हत्या गरि गहना लुट्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले आईतबार सार्वजनिक गरेको छ ।
धुनिबेसी नगरपालिका वडा नम्बर १ डाडागाउँ निवासी ५९ वर्षीया तिर्थमायाँ तामाङलाई उनकै घरमा कात्तिक २४ गते राती, नाती नाता पर्ने २१ वर्षीय बिरबहादुर तामाङले ढुंगाले हानेर हत्या गरेका थिए । तिर्थमायाँको घरमा रक्सी खाएका आरोपितले काठमाण्डौ जान हिडेपछि राती फर्केर आइ ढुंगाले हानेर हत्या गरेपछि कानमा लगाएको सुनको बेरुवा रिङ लुटेर फरार भएका थिए ।
घटनापछि आरोपितले सुन लुकाउन र विक्रि गर्न सघाउने धुनिबेसी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय सुवास तामाङ, उनको श्रीमति भक्तपुर निवासी शितल मित्रकोटी, र सुन सस्तो मूल्यमा खरिद गर्ने सिन्धुपाल्चोक घर भइ काठमाण्डौ मनहरामा जे एच ज्वेलर्सका संचालक २८ वर्षीय रामशरण राज सुनारलाई प्रहरीले कात्तिक २५ गते पक्राउ गरि जिल्ला अदालत पेश गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
सबै आरोपितलाई अनुसन्धानका लागि जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आरोपितहरु विरुद्ध मुलुकी अपराध (संहिता ऐन २०७४, को ज्यान सम्बन्धी कसुर तथा सोही संहिताको चोरी तथा डाँका सम्बन्धी कसुर आरोपमा प्रहरीले मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस