धादिङ २६ कार्तिक
बागमती प्रदेशका पत्रकारका लागि धादिङमा मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ ।
सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले धादिङको गल्छी गाउँपालिका, बैरनीमा आज शुक्रबारदेखि ५ दिने तालिम सुरु गरेको हो । तालिमको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले उदघाटन गरेका छन् ।
तालिम उद्घाटनलाई सम्बोधन गर्दै मन्त्री खनालले नयाँ नीति नयाँ प्रविधि प्रयोग गरि पत्रकारिता सहज बनाउन सरकारले यस्तो तालिममा लगानी गरेको बताउनुभयो । तालिम उद्घाटन गर्न धादिङ आएका मन्त्री खनालले गल्छी गाउँपालिका कार्यालयको पनि अनुगमन गरेका छन् ।
मोबाइललाई अधिकतम प्रयोग गरी सहज रुपमा समाचार लेखन र सम्पादन गर्न तालिम उपयोगी हुने बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटाले बताउनुभयो ।
तस्वीर र भिडियो खिच्न एवं अडियो रेकर्डमा मोबाइलको प्रयोग कसरी गर्ने भन्ने विषयमा तालिम केन्द्रित हुने उनले जानकारी दिनुभयो । तालिममा बागमती प्रदेशभित्रका २० जना पत्रकार सहभागी छन् ।
धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले अनलाइन संचार माध्यमहरुले राख्ने बिकाउ हेडलाईनले भ्रम पैदा हुने भएकोले संवेदनशील भईदिन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि बास्कोटाले सरकारले गरेका राम्रा कामको पनि प्रचार गरिदिन आग्रह गर्नुभयो ।
तालिममा चितवनसहित नुवाकोट, मकवानपुर, रसुवा, सिन्धुपाल्चोक, धादिङ र काठमाडौंका पत्रकारहरुको सहभागिता रहेको छ ।
फोटो स्रोत :सामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस