नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार सञ्चालन समन्वय कार्यदल गठन गरिएको छ। केन्द्रमा जस्तै बागमती प्रदेश सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यका साथ सत्तारुढ गठबन्धनका दलहरूले कार्यदल गठन गरेका हो ।
मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको परामर्शमा कार्यदल गठन भएको हो । कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली काँग्रेसबाट राधा घले, प्रभात तामाङ र नेकपा एकीकृत समाजवादीबाट माधव पौडेल, मीना ज्ञवाली रहेको कार्यदल सदस्य सांसद तामाङले जानकारी दिनुभयो।
कार्यदलले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने बताइएको छ । कार्यदलले गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तयार गर्ने, गठबन्धनबीच सहमति, सहकार्य एवं समझदारी कायम गर्ने र सरकारको कार्यक्रम कार्यान्वयनलाई मितव्ययी, प्रभावकारी, भ्रष्टाचार शून्य बनाउने लगायतका काम गर्ने संयोजक दुलालले बताउनुभयो ।
source : ratopati
प्रतिक्रिया दिनुहोस