वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आर्थिक अनुशासन पालना गर्ने र फजुल खर्च घटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार वागमती प्रदेशसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।
पाण्डेले आगामी तीन महिनाभित्र विगतका सरकारले गरेका कामबारे आफूले श्वेतपत्र जारी गर्ने बताएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले विगतका सरकारले तीन वर्षसम्म केके काम गरेछन् भन्नेबारे प्रदेशवासीलाई जानकारी दिनका निम्ति आफूले श्वेतपत्र जारी गर्ने बताए ।
आफूले सम्पन्न गर्न नसक्ने योजनामा हात हालेर समय खेर नफाल्ने पनि उनले बताए । योजनामा खर्च गर्न सकिने समस्या समाधान गर्नका लागि आवश्यक परे कानुन संशोधनसमेत गरिने उनले प्रस्ट पारे ।
अहिलेसम्म प्रदेश सरकार सञ्चालन ऐन बन्न नसकेको भन्दै उनले यसका लागि आफूले चाँडै ध्यान दिएर ऐन निर्माण गर्ने बताए । उनले विगतमा जस्तो आफूलाई मन परेन भन्दैमा संविधान च्यात्ने काम आफूहरुले नगर्ने पनि प्रस्ट पारे ।
प्रतिक्रिया दिनुहोस