धादिङ ०३ कार्तिक
प्रदेश सरकारले निर्धारण गरेको भाडादर बस व्यवसायीहरुले नगर्दा यात्रुहरुलाई समस्या परेको भन्दै धादिङका राजनैतिक दलहरुले प्रमुख जिल्ला अधिकारीलाई दवाव दिएका छन् । माओवादी केन्द्र धादिङका सह–इन्चार्ज रामबहादुर भण्डारी, नेपाली काँग्रेसका उप–सभापति भक्त लामा, जसपा धादिङका अध्यक्ष राम ढकाल नेकपा(एकीकृत समाजवादी) लगायत दलका प्रतिनीधिहरुले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई भेटदै तत्काल बागमती प्रदेश सरकारले तोकेको भाडादर कार्यान्वयन गराउन माग गरेका हुन् ।
यस्तै सर्वदलीय प्रतिनिधिहरुले ग्रामीण भेगमा चल्ने यातायातका साधनहरुले मनपरी भाडा असुल्ने गरेकाले भाडादर तोक्न समेत माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी लम्सालले धादिङका सबै बस काउन्टरहरुमा परिमार्जित भाडादर टास्न लगाउने र बढी भाडा उठाएको पाइएमा कारबाही गरिने प्रतिबद्धता जनाउँदै ग्रामीण रुटमा समेत अनुगमन गरेर भाडादर निर्धारण गरिने प्रतिबद्धता जनाएका छन् ।
बागमती प्रदेश सरकारले दशैं लगत्तै उपत्यकाभित्र २८ प्रतिशत र उपत्यका बाहिर २३ प्रतिशत भाडा वृद्धि गरेको थियो । तर धादिङका बस व्यवसायीहरुले भने आफूखुसी भाडादर बढाएका थिए ।
तस्विरः सामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस