सरकारले कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको हो । यसअघि कात्तिक ३ र ४ गते खुवाउने गरिएको कार्यक्रम यसवर्ष ७ र ८ मा खुवाउने मन्त्रालयले बताएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा आवश्यक स्वास्थ्यका मापदण्डलाई पालना गर्न पनि आग्रह गरेको छ । यस्तै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि खटिएका स्वास्थ्यकर्मीलाई पनि अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनेको छ ।
कम्तिमा दुई मिटरको दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, स्यानिटाइजरको नियमित प्रयोग गर्ने, साबुनपानीले नियमित हात धुने जस्ता जनस्वास्थ्यका मापदण्ड कडाईंका साथ पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ । सरकारले हरेक वर्ष ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्ष देखि ५ वर्षको बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस