धादिङ २ आषाढ
विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुलाई बेरुजुका विषयमा गम्भिर बन्न आग्रह गर्दै विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताउनु भएको छ । आज शिक्षा विकास तथा समन्वय इकाई धादिङले धादिङबेसीमा जिल्लाभरका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुका लागि बेरुजु फस्र्योट र शैक्षिक सुधारका कार्यक्रम सम्बन्धमा आयोजना गरेको गोष्ठिमा बोल्दै यस्तो बताउनु भएको हो । उहाँले शिक्षकको भूमिका विद्यार्थीलाई शिक्षा दिने मात्र नभएर समाजलाई सत्मार्गमा लैजाने हुनुपर्ने बताउनु भयो । शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यको अध्यक्षतामा भएको गोष्ठीमा एकीकृत अखिल नेपा शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष खिल बहादुर धमला, नेपाल शिक्षक संघका अध्यक्ष विष्णु अधिकारी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष ठान प्रसाद बसौला, नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य अर्जुन नगरकोटी लगायत जिल्लाभरका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
विगत ६/७ वर्षदेखि जिल्लाभरका प्रधानाध्यापकहरुको संयुक्त गोष्ठी नभएको धादिङ जिल्लामा सोमबारको गोष्ठीमा बेरुजु फस्र्योटका साथै थप शैक्षिक सुधारका लागि विद्यालय, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय तह तथा शैक्षिक सरोकारवालहरुसँग समन्वय गर्दै के कस्ता कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।
विद्यार्थी लगबुकको व्यवस्था, बालमैत्री शिक्षण, शिक्षक डायरीको प्रयोग, मोबाइल लर्निङ, परीक्षाफल तथा नतिजा विश्लेषण, टोल शिक्षा समिति गठन, समय समयमा विषय शिक्षकहरुको भेला, शिक्षकहरुको तहगत हाजिरी जवाफ, निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिमा जोड, अभिभावक बडापत्र तयार, श्रव्य दृष्य सामग्रीको भरपुर प्रयोग लगायतका नयाँ शैक्षिक सुधारका कार्यक्रमहरु थप्न सकिने शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आर्चायले बताउनु भएको थियो । म विद्यार्थीका लागि र विद्यार्थी मेरा लागि भन्ने मूल मर्मलाई आत्मसाथ गरी विद्यार्थीको अपेक्षा, आवश्यकता र नयाँ प्रविधिको प्रयोग गर्दै शिक्षण गर्न सकेमा छिट्टै शिक्षणमा आमूल परिवर्तन गर्न सकिने समेत उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस