धादिङ २१ असोज
सामुदायिक रेडियोमा कोभिड माहामारीले पारेको प्रभावका बारेमा सोमबार धादिङबेसमिा छलफल भएको छ । सामुदायिक रेडियोहरुको विश्व संगठन अर्माक एसिया प्रसान्त क्षेत्रको सहयोग तथा रेडियो धादिङको आयोजनामा भएको अन्तरकृया कार्यक्रममा जिल्लाभित्रका सामुदायिक रेडियोहरुका प्रमुख एवं प्रतिनिधिहरुले कोभिडका कारण सिर्जित समस्या र त्यसको समाधानका बारेमा भएका सफल प्रयासहरुको बारेमा एक आपसमा अन्तरकृया गरेका थिए ।
अन्तरकृया कार्यक्रममा धादिङ जिल्लाभित्रका सामुदायिक रेडियोहरुमा कोभिडका कारण कर्मचारी कटौती गर्न नपरेको तर आर्थिक व्यवस्थापनमा निकै कठिनाइ उत्पन्न भएको रेडियोकर्मीहरुले बताएका थिए । देश पूर्ण लकडाउनमा रहेका बेला कार्यालयमै तथा घरमै बसेर गर्न मिल्ने कामहरुलाई व्यवस्थापन गरी रेडियो सञ्चालनमा नियमितता र निरन्तरता दिएको पनि रेडियोकर्मीहरुले बताएका थिए ।
जिल्ला बाहिर विभिन्न सञ्चारगृहहरुले कोभिडको कारण देखाउँदै कर्मचारीहरु कटौति गरिरहँदा धादिङमा भने त्यस्तो समस्या भोग्नु नपरेको रेडियोकर्मीहरुको भनाइ थियो ।
कार्यक्रममा रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, रेडियो बिहानीका स्टेशन म्यानेजर शिव प्रसाद देवकोटा, रेडियो राजमार्गका स्टेशन म्यानेजर राम बहादुर ठकुरी, रेडियो कृषिका उपेन्द्र अधिकारी र इच्छाकामना एफ्एमका स्टेशन म्यानेजर दान बहादुर गुरुङले प्रस्तुतीकरण गर्नभएको थियो । कार्यक्रममा जिल्लाभित्रका २० जना भन्दा बढी सामुदायिक रेडियोकर्मीहरुको सहभागिता रहेको थियो ।
धादिङमा सहिद स्मृति सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो बिहानी ९७.६ मेगाहर्ज, ग्रामीण सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्ज, राजमार्ग सामुदायिक सूचना केन्द्रद्धारा सञ्चालित रेडियो राजमार्ग, रेडियो कृषि र रेडियो त्रिशुली गरी ५ वटा सामुदायिक रेडियो रहेता पनि हाल ४ वटा नियमित सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस