धादिङ ०४ असोज
धादिङ अस्पतालमा सोमबार एक कार्यक्रमका बिच अक्सिजन प्लान्ट र थाइराइड चेक गर्ने ल्याब उद्ध्घाटन भएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवालले बाग्मती प्रदेश सरकारको सहयोगमा निमार्ण गरिएको अक्सिजन प्लान्ट र थाइराइड चेक गर्ने किलिया मेसिन उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री कटुवालले पि.सि.आर मेसिन सञ्चालनमा ल्याई नागरिकहरुलाई सेवा दिन आग्रह गर्नुभयो ।
यस्तै मन्त्री कटुवालले जिल्ला अस्पतालको भौतिक संरचना निर्माणमा पनि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आज उद्घाटन गरिएको अक्सिजन प्लान्टले २४ घण्टामा ५५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने र नयाँ प्रबिधिको अत्याधुनिक मेसिनबाट थाइराइड, भिटामिन डि र हर्मोन प्रोफाइल समेत जाँच गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. त्रिभुवन चन्द्र झाले बताउनु भयो ।
धादिङ अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, प्रहरी प्रमुख महेन्द्र खड्का, स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेल, राजनैतिक दलका पार्टी प्रतिनिधिहरु, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस