धादिङ २० श्रावण
विश्व स्तनपान दिवसका अवसरमा बुधबार धादिङबेसीमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । हामी सबैको साझा जिम्मेवारी स्तनपान संरक्षण हुन्छ प्रभावकारी भन्ने नारासहितसाउन १७ देखि सुरु भएको स्तनपान दिवस २३ गतेसम्म मनाइने गरिन्छ । स्वास्थ्य कार्यालय धादिङको आयोजनामा भएको पत्रकार भेटघाट तथा अन्तरकृयामा आमा र बच्चाको स्वास्थ्यको लागि स्तनपानको महत्वपूर्ण भुमिका भएकोले सप्ताहव्यापी कार्यक्रम गरेर प्रचारप्रसार गरिरहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
बच्चाको रोग प्रतिरोधात्मक क्षमता विकासका लागि आमाको पहिलो दुध अति नै महत्त्वपूर्ण हुने भएकाले बच्चा जन्मेको १ घण्टाभित्र दुध खुवाउनुपर्ने स्वास्थ्य कार्यालय धादिङकी अम्बिका पाण्डेले बताउनु भयो । कम्तिमा १ घण्टाभित्र आमाको दुध खुवाइसक्नुपर्ने भएता पनि तथ्यांक अनुसार धादिङमा १ घन्टाभित्र दुध खुवाउनेको संख्या निकै कम पाइएको छ ।
धादिङमा स्तनपान सम्बन्धि परामर्श तथा सचेतताका कार्यक्रमहरु स्वास्थ्य कार्यालय लगायत संघ सस्थाहरुले सञ्चालन गर्दै आएका छन् । हरेक सरकारी कार्यालय तथा विभिन्न सेवाप्रदायक कार्यालयमा स्तनपान कक्ष स्थापना गर्नुपर्ने भनिए पनि धादिङ अस्पताल बाहेक अन्य कार्यालयमा स्तनपान कक्ष स्थापना भएको पाइदैन ।
प्रतिक्रिया दिनुहोस