धादिङ जेष्ठ १३
नीलकण्ठ नगरपालिका धादिङ र जापानको युसिहारा नगरपालिकाबीच आपसी सहकार्य गर्ने विषयमा द्धिपक्षीय छलफल आज नगरपालिकाको कार्यालयमा सम्पन्न भएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कला, संस्कृति, परम्परा तथा विभिन्न आधुनिक पद्धतिको आवश्यक आदान प्रदान गर्ने सहकार्य भएको उक्त कार्यक्रममा जानकारी दिइएको थियो । जापानको युसिहारा नगरपालिकाका डेपुटि मेयरको नेतृत्वमा आएको जापानी टिमले नीलकण्ठ नगरपालिकासँग सहकार्य गर्ने प्रतिवद्धता जनाएको हो । नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानासहितको समूह जापान पुगी युसिहारा नगरपालिकासँग सहकार्यको प्रस्ताव राखेका कारण सोमबार युसिहारा नगरपालिकाको टिम धादिङ आएको हो ।
कार्यक्रममा युसिहारा नगरपालिकाका डेपुटी मेयरसहितको टोली र नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना, उपमेयर मनराज भण्डारीका साथै नगरपालिकाका कर्मचारी, वडा अध्यक्षहरु, जनप्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । करिब ७१ हजार जनसङ्ख्या रहेको र १४ वटा वडामा विभाजित नीलकण्ठ नगरपालिकामा जिल्लाको सदरमुकाम रहेको छ ।
प्रतिक्रिया दिनुहोस