धादिङ २१ जेठ
धादिङको सिद्धलेक गाउँपालिकाका विभिन्न स्थानहरुमा बुधबार देखि जेष्ठ २४ गते राती १२ सम्मका लागि सिल गरिएको छ । मङगलबार धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ स्थित हिटीकी २३ वर्षीया गर्भवती महिलामा कोरोना भाइरस पोजेटिभ देखिएसंगै सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल सहित प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जेष्ठ २४ गतेसम्मका लागि सिल गरिएको हो । मङगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौँमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि कुम्पुर हिटी गाउँको पूर्वमा गनगने चौतारा, पश्चिममा चिप्ले डाँडा, उत्तरमा सुकौरा खोला र दक्षिणमा आँख्ले चौतारो बीचको सीमाक्षेत्र शील गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिनुभयो । बैठकले आगामी जेठ २४ गते राती १२ बजेसम्म सङ्क्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । उल्लेखित चार किल्ला क्षेत्रभित्र पूर्ण शिलबन्दी गर्ने, पूर्णरुपमा आवतजावत बन्द गर्ने, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालले सुरक्षा व्यवस्था मिलाउने जिम्मा दिइएको छ । बैठकले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको क्लोज मनिटरिङ गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने र क्वारेन्टाईनको व्यवस्था गरेको छ । यो संगै धादिङमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ भने ३ जना उपचारपछि घर फर्किइसकेका छन् । धादिङमा हालसम्म नेत्रवती डबजोङ गाउँपालिकाका ३३ बर्षीय पुरुष, गल्छी गाउँपालिकाकी ३० बर्षीय महिला र थाक्रे गाउँपालिकामा एक र धादिङको सिद्धलेक गाउँपालिकाकी २३ बर्षीय गर्ववती महिलामा कोरोना पोजेटिभ पुष्टि भएकोे छ ।
प्रतिक्रिया दिनुहोस