धादिङ ०३ पुस
बहू प्रतिष्ठित राष्ट्रिय गौरवको आयोजना बुढी गण्डकी जलासययुक्त आयोजना बन्ने कुरामा कुनै आशङ्का नगर्न प्रदेश सांसद जगत सिंखडाले प्रभावितहरुलाई आग्रह गर्नुभएको छ । कार्की गाउँ माध्यमिक विद्यालयमा ५ दिनदेखि सञ्चालित दन्त शिविरको समापन कार्यक्रममा सांसद सिंखडाले सो कुरा बताउनु भएको हो । सरकारले प्रभावित सबै क्षेत्रको मुआब्जा निर्धारण गरिसकेकाले अब छिट्टै नै निर्माण कार्य सुरु हुने बतउनु भयो । अहिलेको सरकारले सम्बृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन विकास निर्माण कार्य तिब्रताका साथ अगाडि बढाएको बताउदै सांसद सिंखडाले शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रलाई सुधार गर्दै विकासतर्फ अगाडि बढ्नुपर्ने बताउनु भयो ।
पाथ नेपालको आयोजना तथा हेल्पिङ ह्यान्ड्स फर डेन्टल केयर र हेल्थ रुलर नेपाल रोटरी क्लब अफ धादिङको सहयोगमा कार्कीगाउँ माध्यमिक विद्यालय त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नं. ४ सल्यानकोटमा बिहिबार ५ दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको हो । कार्कीगाउँ माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिल बहादुर बुढाथोकीको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सांसद जगत सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै त्रिपुरा सुन्दरी गाउँ पालिकाका अध्यक्ष शम्भु कुमार थापाको विशेष आतिथ्यता रहेको थियो ।
यस्तै अतिथिहरुमा त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नं. ४ का वडा अध्यक्ष कपिल सिंखडा, वडा नं. २ का वडा अध्यक्ष कृष्ण खत्री, पाथ नेपालका प्रमुख शितल धरेल, त्रिपुरा सुन्दरी गाउँ पालिकाका स्वास्थ्य संयोजक याम बहादुर श्रेष्ठ तथा नेदरल्यान्डका ८ जना नागरिकहरुको आतिथ्यता रहेको थियो ।
५ दिनसम्म चलेको निशुल्क स्वास्थ्य शिविरमा २५० जना भन्दा बढी दाँतका विरामीहरुको परीक्षण गरिएको थियो । कार्यक्रमकै अवसर पारी त्रिपुरा सुन्दरी गाउँ पालिका अन्तरगतका स्वास्थ्य चौकीहरुलाई ३ र गङ्गा जमुना गाउँ पालिकाभित्रका स्वास्थ्य चौकीहरुलाई ३ गरी ६ वटा डेन्टल चियर समेत वितरण गरिएको थियो । ५ दिने शिविरका क्रममा स्थानीय स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तालिम समेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस