धादिङ २१ मङ्सिर
सहकारीहरुले वित्तीय अनुशासनमा रहेर उत्पादनमूलक तथा व्यवसायिक क्षेत्रमा लगानी गर्नुपर्ने संघीय सांसद खेम प्रसाद लोहनीले बताउनु भएको छ । पाँचधारे महिला कृषि सहकारी संस्था लिमिटेड नीलकण्ठ–२, साखु, धादिङको ७ औँ वार्षिक साधारण सभामा बोल्दै सो कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद लोहनीले स्थानीय स्तरमा उत्पादनका स्रोत साधनहरुको खोजी गरी एक गाउँ एक उत्पादन, एक घर एक रोजगारीको विकासतर्फ लाग्नुपर्ने बताउनु भयो । सोही अवसरमा सांसद लोहनीले पाँचधारे कृषि सहकारीको निमार्णधीन भवनका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताउनु भयो । फरक प्रसङ्गमा बोल्दै लोहनीले केपि ओली नेतृत्वको सरकार अत्यन्तै सफल बन्दै गएको तथा आर्थिक रुपमा देशलाई सम्बृद्धितर्फ अग्रसर गर्दै लगेको बताउुन भयो ।
सहकारीकी अध्यक्ष सीता भण्डारीको अध्यक्षता रहेको साधारण सभामा संघीय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा धादिङका सचिव विजय बुर्लाकोटी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको विशेष आतिथ्यता तथा नेकपा धादिङका जिल्ला कमिटी सदस्य नेत्र नेपाल, नीलकण्ठ नगरपालिका वडा नं. २ का अध्यक्ष ध्वज बहादुर गुरुङ, रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा, महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीका बहादुर भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विशेष अतिथि मनराज भण्डारीले भ्यु टावर, पाँचधारे, वागेश्वरी, लामा गुरु, चमेरे गुफा जस्ता ऐतिहासिक र पर्यटकीय महत्त्व बोकका स्थलहरु रहेको सो क्षेत्र पर्यटकीय हिसाबले धेरै नै सम्भावन भएकाले सहकारी मार्फत स्थानीय अर्गानिक उत्पादनलाई बढावा दिदै होम स्टेको प्रबद्र्धन गर्नुपर्ने बताउनु भयो ।
यस्तै विशेष अतिथि विजय बुर्लाकोटीले सहकारीको मान्यता र सिद्धान्त अनुसार काम गर्दै सामुहिक योजना निर्माण गर्नुपर्ने बताउनु भयो । यस्तै वडा अध्यक्ष ध्वज बहादुर गुरुङले सबैभन्दा सम्मानजन पेशा कृषि रहेकाले कृषिलाई प्रबद्र्धन गर्ने खालका कार्यक्रमहरुमा वडाले बजेटको व्यवस्था गर्ने बताउनु भयो ।
२०६९ सालमा स्थापना भएको संस्थाको १ सय ५७ जना सेयर सदस्य, ८० जना बाल बचतकर्ता, २ जना किशोरी बचतकर्ता रहेका छन् । कुल ४ लाख ८९ हजार ४ सय सेयर पूँजी रहेको संस्थाको बचत रकम १५ लाख ९३ हजार ३ सय १८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस