धादिङ १३ मङ्सिर
बुढीगण्डकी परियोजनाको व्यवस्थापनका साथै सल्यानटारलाई व्यवस्थित सहरका रुपमा विकास गर्नको लागि आफ्नो तहबाट सक्दो पहल गर्ने सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले बताउनु भएको छ । बुढीगण्डकी परियोजनाको मुआव्जा वितरण कार्यमा सरकार निरन्तर रुपमा लागि परेको उहाँले बताउनु भयो । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ सल्यानबेसीस्थित त्रिपुरासुन्दरी माईको जात्राको समापन समारोहमा बोल्दै मन्त्री मानन्धरले सो कुरा बताउनु भएको हो । यस मेलालाई पहाडी क्षेत्रको ठुलो मेला माइथान जात्राको नामले समेत परिचित यस मेलालाई न्वागी जात्राको नाममा बिशेष रुपमा लिने गरिएको छ । नेपालका शक्तिपीठहरु मध्ये त्रिपुरासुन्दरी माई पनि एक भएको हुँदा भक्तजनहरुले आफ्नो इच्छा भाकल पुरा गर्नको लागि मेलामा सहभागिता जनाएका थिए ।
त्रिपुरासुन्दरी माईको जात्रा हरेक बर्षको मङ्सिर महिनाको उत्तम साइत हेरेर सल्यानकोट घरबाट देवीलाई सल्यानबेसीमा माइती तर्फ भित्रयाउन मेला सम्पन्न भएको हो । त्रिपुरासुन्दरी गाउँपालिकका प्रमुख शम्भु कुमार थापाको अध्यक्षता रहेको कार्यक्रममा शहरी विकास राज्य मन्त्री राम विर मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघीय सांसद खेम प्रसाद लोहनी, प्रदेश सांसद जगत सिंखडा, संविधान सभा सदस्यहरु पुष्प विक्रम मल्ल, गुरु बुर्लाकोटी र धन बहादुर घले, नेकपा धादिङका अध्यक्ष नेत्र पौडेल, नेपाली काङ्ग्रेस धादिङका सभापति रमेश धमला, पूर्व मन्त्री परसुराम तामाङ, नीलकण्ठ नगरपालिका धादिङका उप–प्रमुख मनराज भण्डारी, धादिङ विभिन्न स्थानीय तहका प्रमुख उप प्रमुख, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी प्रमुख राजकुमार बैदवार, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मेलाकै अवसर पारी गरिएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेक थिए । मेला भर्नका लागि धादिङ, गोरखा, चितवन, काठमाडौँ लगायत देशभरबाट करिब १० हजार भक्तजनहरु आएका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु बद्रि पङ्गेनी, प्रिति आले लगायत स्थानिय लोक गायकहरुको विजोड प्रस्तुती रहेकको थियो । कार्यक्रममा मन्तब्य राख्ने अधिकांश बक्ताहरुले बुढीगण्डकी परियोजनाबाट प्रभावित खहरे र आरुघाटको मुअब्जा वितरण कार्यममा भएको ढिलाई प्रति असन्तुष्टि जनाएका थिए ।
मेलाकै अवसर पारी न्यु त्रिपुरा सुन्दरी युवा क्लबले आयोजना गरेको खुल्ला फुटबल प्रतियोगितामा डाडाँगाउँ युवा क्लब सल्यानटार प्रथम भएको छ । यस्तै कुमारी देवी युवा क्लब ए ज्यामरुङ द्धितीय र कुमारी देवी युवा क्लब बि तृतीय भएका छन् । बिजयी समूहरुलाई क्रमश : ५० हजार, ३० हजार र २० हजारका साथै सिल्ड, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको सहकर्मी प्रशान्त धवन्याले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस