धादिङ ०६ मङ्सिर
बुढी गण्डकी प्रभावित स्थानीयहरुको मुआब्जा निर्धारणका लागि पटक पटक सदन र सडकमा आवाज उठाउँदा समेत सरकारले मुआब्जा निर्धारण नगरेको प्रदेश सांसद जगत सिंखडाले बताउनु भएको छ । प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुको अगवाइमा शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङको धर्ना कार्यक्रममा बोल्दै सांसद सिंखडाले सो कुरा बताउनु भएको हो । सांसद सिंखडाले धर्नाबाट पनि समस्या समाधान नभए थप सङर्घषको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिनुभयो । शुक्रबार बिहान १० देखि १२ बजेसम्म २ घण्टा आयोजित धर्ना कार्यक्रममा सही मूल्यमा मुआब्जा निर्धारण नभएसम्म सरकारलाई लालपुर्जा नबुझाउने प्रभावित बताउँछन् । धर्ना पश्चात प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्रभावित क्षेत्रमध्ये मुआब्जा तोक्न बाकि रहेका क्षेत्रहरुमा तत्काल मुआब्जा निर्धारण गर्ने बताएकाले थप आन्दोलनका कार्यक्रमहरु तत्कालै अगाडि नबढाउने त्रिपुरा सुन्दरी गाउँ पालिकाका अध्यक्ष सम्भु कुमार थापाले बताउनु भयो । प्रभावितहरुले पटक पटक मुआब्जा वितरणको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागी माग गर्दै आए पनि आफ्नो माग पुरा नभएपछि शुत्रबार जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिएका हुन् । बुढीगण्डकी जलाशय युक्त आयोजनाले अन्यत्र मुआब्जा वितरण गरेपनि गोरखाको आरुघाट गाउँपालिकाको आरुघाटबजार र आरखेत तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको आरुघाट बजार, विशालनगर र खहरे क्षेत्रका प्रभावितहरुलाई मुआब्जा वितरण गरिएको छैन ।
बुढीगण्डकी प्रभावितहरुले घरजग्गा, गोठ, पशुपन्छी, बोटबिरुवाको उचित मुआब्जा पाउनुपर्छ भनि आन्दोलन गर्दै आइरहेका छन् । सरकारले पटकपटक आश्वासन दिए पनि मुआब्जा वितरण गर्न सकेको छैन । मुआब्जा नपाउँदा बुढीगण्डकी प्रभावितहरुले न वित्तिय संस्थामा घरजग्गा राखेर ऋण लिन सकेका छन् न नयाँ उद्योग व्यवसाय गर्नलाई अनुमती पाएका छन् । धर्नामा सहभागी प्रभावितहरुले आगामी ९ गतेभित्र आफ्नो माग पुरा नभए पृथ्वी राजमार्ग अबरुद्ध गर्ने चेतावनी दिएका छन् । कार्यक्रममा ऐक्यबद्धता जनाउँदै धादिङका प्रदेश सांसद द्वय जगत सिंखडा र डा.राजाराम कार्की पूर्वसांसद रामनाथ अधिकारी , काँग्रेस नेतृ कल्पना अधिकारी, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री धर्नामा बसेका थिए । त्यसैगरी धर्ना कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य कमल नारायण श्रेष्ठ , गोरखा जिल्ला समन्वय समितिका सदस्य राजु गुरुङ, आरुघाट गाउँपालिका गोरखाका अध्यक्ष पूर्ण दाहाल, त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापा ,उपाध्यक्ष देवी पाण्डे र दुवै जिल्लाका बुढिगण्डकी सरोकार समितिका पदाधिकारी तथा स्थानीय वडा अध्यक्षहरु लगायतका जनप्रतिनिधिहरुको लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस