धादिङ ९ मंसिर
सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने बताउनुभएको छ ।
आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनले आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्नुहुँदै उहाँले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिनुभयो ।
उहाँले पूर्वीय सभ्यतामा आधारित नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेदको जुन महत्त्व र इतिहास छ, यसको तुलनामा आज हामीले यसलाई कति विकास गर्न सक्यौँ भन्ने मूल प्रश्नमा बहस हुन आवश्यक रहेको पनि बताउनुभयो ।
पूर्वीय सभ्यताको अङ्ग र पुस्ताको नासोको रूपमा रहेको आयुर्वेदको यो गौरवपूर्ण विरासतलाई अब आधुनिक प्रविधिसँग जोडेर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । आयुर्वेदको विकासका लागि व्यापक अनुसन्धानमा जोड दिने र यसलाई नेपाली समाजको जीवनशैली बनाउनतिर ध्यान दिनैपर्ने मन्त्री शर्माको जोड छ ।
नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रूपमा स्थापित गरेको र राष्ट्रिय नीतिमा आयुर्वेदलाई महत्त्व दिइएको उल्लेख गर्नुहुँदै उहाँले नीति र कानुनको अभाव नभए पनि यसको कार्यान्वयन पक्ष भने कमजोरी नै रहेको सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो ।
सरकारले चालु आर्थिक वर्षमा आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपञ्चर, आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने नीति अघि सारेको जानकारी दिनुहुँदै मन्त्री शर्माले नागरिकलाई शारीरिक व्यायाम, योग र आरोग्य सेवाको विस्तार तथा सन्तुलित आहारमा जोड दिई स्वछ जीवनशैली अपनाउन अभिप्रेरित गर्ने र खुला योग तथा व्यायामशाला निर्माण, जडीबुटी उत्पादन र प्रशोधनलाई प्रोत्साहन गर्ने पनि सरकारको नीति रहेको स्पष्ट गर्नुभयो ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस