धादिङ २० असोज
धादिङ प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लाका बिभिन्न स्थानमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ ।
दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै सदरमुकाम धादिङबेशी सहित छ स्थानमा हेल्प डेस्क स्थापना गरिएको हो ।
आज शनिबार धादिङबेशीमा एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हेल्प डेस्कको स्थापना गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गैह्रेले हेल्प डेस्कलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । यसले धेरै यात्रुहरूलाई सहज हुने विश्वास व्यक्त गर्नुभयोे ।
बडादशै‚ दिपावली तथा छठ पर्वमा हुने यात्रुको चाप,सवारी साधन चाप बढ्दै जाने हुँदा बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड‚ बढी भाडा लिने‚ यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकको पिरमर्काको तत्काल सुनुवाई गरी समस्या समाधान गर्ने उद्धेश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) गौतम मिश्रले बताउनुभयो ।
हेल्प डेस्क धादिङबेशीस्थित पुछारबजार पुलिस बिट, जोगिमारा, गजुरी,गल्छी, महादेवबेशी र खानिखोला स्थापना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस