धादिङ ०५ असोज
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ रि गाउँ पहिरो जोखिममा परेका घरपरिवारलाई राहत वितरण गरिएको छ ।
गत साउन २८ र २९ गते परेको अविरल वर्षाले गाउँमाथिको जमिन भासिन थालेपछि गाउँ नै उच्च जोखिममा परेको हो । विहिबार एक कार्यक्रमकाविच नेपाल रेडक्रस सोसाइटी धादिङले ४८ घरपरिवारलाई प्रति परिवार १५ हजारका दरले प्रदान गरिएको हो । यस्तै प्रदेश सरकारको सहयोगमा जिल्ला प्रशासन कार्यालय धादिङले पनि त्रिपाल वितरण गरिएको हो ।
पहिरोले समस्याको ओइरोमा रुमल्लिएका प्रभावितले राहतमा नगदसहित त्रिपाल पाएपछि खुषी बनेका हुन् । पहिरोका कारण वर्षाैदेखि बस्दै आएको थातथलो छाडेर लामो समय त्रिपालमा बिताएको स्थानीय श्री बहादुर तामाङले बताउनुभयो । विपत्तिमा साथ दिने सरकारी तथा गैरसरकारी संस्थालाई उहाँले धन्यवाद दिनुभयो ।
पहिरोबाट विस्थापितहरुको समस्या समाधानमा गाउँपालिका दत्तचित्त भएर लागेको गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले बताउनुभयो ।
दुःखको घडीमा थोरै भएपनि मल्हम लगाउन नगदसहित गैर खाद्य सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ कुमार तामाङले बताउनुभयो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका प्रमुख,गंगाजमुना गा.पा अध्यक्ष,उपाध्यक्ष,प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालय प्रमुख,नेपाल रेडक्रस परिवार,पत्रकार लगायतको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस