कृष्ण बहादुर लामिछाने
गोरखा १६ असोज
धारापानी माध्यमिक विद्यालय आरुघाट गाउँ पालिका ८ आरुपोखरी गोरखाको नव निर्मित भवनको हस्तान्तरण एवं उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षेतिग्रस्त विद्यालय भवन जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा नेपाल सरकार राष्ट्रिय पुर्न निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका मार्फत पून निर्माण भएको धारापानी माध्यमिक विद्यालयको सम्पूर्ण शैक्षिक पूर्वाधारको हस्तान्तरण एवं उद्घाटन गरिएको हो । विद्यालय हस्तान्तरण कार्यक्रममा भवन निर्माण व्यवसायी बुद्धि प्रसाद श्रेष्ठले विद्यालयको साचो जिल्ला आयोजनाका प्राविधिक गाउँ पालिका अध्यक्ष र वडा अध्यक्ष मार्फत विद्यालयका प्रधानाध्यापक शान्ता सापकोटालाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । जाइकाको सहयोगमा निर्मित २ वटा पक्की भवनमा १६ वटा कक्षाकोठाहरु रहेका छन् । करिब ६ करोड लागतमा बनेको विद्यालय भवन आवश्यक फर्निचरको साथ विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, सोलार, तारजालीबाट विद्यालयको घेराबार व्यवस्थित सौचालय निर्माण गरिएको छ ।
शिक्षक सूर्य प्रकाश भट्टले सञ्चालन गर्नुभएको विद्यालय हस्तान्तरण एवं उद्घाटन कार्यक्रममा शिक्षक नरबहादुर न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको र विद्यालयकी प्रधानाध्यापक शान्ता सापकोटाले विद्यालय स्थापनाको पृष्ठभूमि सहित शैक्षिक भौतिक प्रतिवेदन पेश गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविदत्त खनालको अध्यक्षता रहेको कार्यक्रममा आरुघाट गाउँ पालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला आयोजना प्रमुख, प्राविधिक इन्जिनिएर, निर्माण व्यवसायीको प्रतिनिधि, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको कार्यक्रममा शिक्षक विद्यार्थी र अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस