धादिङ २२ भाद्र
आज राष्ट्रिय पर्व न्वागी (छोनाम) मनाइदै छ ।
चेपाङ समुदायको पर्व न्वागीको अवसरमा बागमती प्रदेश सरकारले धादिङ,मकवानपुर र चितवन गरि आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको तीन जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।
चेपाङ संघले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल क्षेत्रमा न्वागी मनाउँदै आएका छन् । चेपाङहरूले आफ्नो प्रमुख चाडको रुपमा छोनाम न्वागीलाई मान्छन् ।
भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने गर्छन् । यस दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ ।
चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाँक्री (पाण्दे) हरुले एकपाखे ढ्यांग्रोे ठोक्दै कुखुराको बली चढाउने गर्दछन् ।
छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । चेपाङले न्वागी पर्वलाई ‘पान्देई घ्यासा’ चाड पनि भन्छन् ।
भेला भएर ढ्यांग्रोे बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । न्वागीको दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने गर्दछन् । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो ।
चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत श्रृंखला वरिपरिको रैथाने वासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङहरुको घना बसोबास छ ।
यद्यपि चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भीरपहरा आदिको नाम चेपाङ भाषाबाटै राखिएका छन् ।
चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते न्वागी (छोनाम) मनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस