धादिङ ०७ भाद्र
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जिल्ला खेलकुद विकास समिति धादिङको नव निर्मित भवन उद्घाटन गरेको छ ।
विहीबार एक विशेष कार्यक्रमको आयोजना गरि मुख्यमन्त्री जम्कट्टेलको वाहुलीबाट जिल्ला खेलकुद विकास समिति धादिङको नव निर्मित भवन उद्घाटन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले संमृद्ध बागमती प्रदेश बनाउन खेल क्षेत्रलाई पनि उत्तिकै महत्वपूर्ण दिनुपर्ने बताउनुभयो । खेलकुदको भौतिक संरचनासँग खेलकुद विकासले मात्रै बागमती प्रदेश समृद्ध बन्न सक्ने बताउनुभयो ।
बागमती प्रदेशका १४ वटै जिल्लाहरुमा खेलकुद विकासलाई जोड दिई कार्यायोजना बनाई काम गरिरहेको बताउनुभयो । धादिङको उत्तरी क्षेत्र सांकोष तिप्लिङ सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै किन्ताङ फेदीको वेलीबृज निर्माणको कार्य तत्काल अगाडी नबढेँ यस्को जिम्मा प्रदेश सरकारले लिई डिपीआरको कार्यायोजना अगाडी बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
त्यस्तै माओवादी केन्द्र जिल्ला संयोजक मनराज भण्डारीले जिल्लाको खेलकुद बिकासको लागि आफु जिल्ला खेलकुद बिकासको अध्यक्ष हुँदा पनि भरपुर खेल क्षेत्रको बिकासमा लागेको स्मरण गर्नुभयो ।
उहाँले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई अनुशासित,लगनशिल हुन आवश्यक रहेको बताउदै तीन वटै स्थानीय तह सरकारले थप आवश्यक बजेट बिनीयोजन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै संविधानसभा सदस्य धन बहादुर घलेले संबृद्ध धादिङ ‘राम्रो धादिङ,हाम्रो धादिङ’ बनाउन बागमति प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभयो । बागमती प्रदेश सरकारको नेतृत्व धादिङको मुख्यमन्त्रीले गरिरहेको हुँदा सबै नागरिकले साथ सपोर्ट गर्न आवश्यक रहेको बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको सभापतित्वमा भएको उक्त भवन उद्घाट कार्यक्रममा प्रदेश सांसद मायाँदेवी शर्मा, एमाले धादिङका उपाध्यक्ष तथा संविधानसभा सदस्य धनबहादुर घले, माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी, धुनीबेसी नगर पालिकाका प्रमुख बालकृष्ण आचार्य,रुविभ्याली गाउँपालिकाको अध्यक्ष राम सिं तामाङ,प्रमुख जिल्ला अधिकारी वद्रिनाथ गैरे लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको भव्य उपस्थिती रहेको थियो ।
२०५२ सालमा स्थापना भएको खेलकुद बिकास समिती धादिङको नयाँ भवनको शिलान्यास भने गत माघ २५ गते मुख्यमन्त्री जम्कट्टेलले नै गरेका थिए । बागमती प्रदेश सरकारले उक्त भवन निमार्णका लागि १ करोड विनियोजन गरे पनि ठेकेदार कम्पनी अन्नकन्या निर्माण सेवा प्रालिले ७१ लाखमा टेन्डर पारी कार्य सम्पन्न गरेको हो ।
प्रतिक्रिया दिनुहोस