धादिङ ९ साउन
धादिङमा महिनावारी तथा स्वास्थ्य शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार किशोरीहरुका दिन (डेज फर गल्स) नेपालको आयोजना र डेज फर गल्स धादिङको संयोजकत्वमा एक विशेष कार्यक्रमको आयोजना सम्पन्न भएको हो ।
विशेष गरि किशोरी र महिलाहरूलाई महिनावारी सम्बन्धी स्वास्थ्य,प्रजनन स्वास्थ्य,महिनावारी हुदा गर्नुपर्ने व्यक्तिगत सरसफाई र उनीहरूको आत्मवल कसरी बढाउन सकिन्छ भन्नेबारे छलफल गरिएको थियो ।
ग्रामीण र दुर्गम बस्तीका साथै सबै क्षेत्रका किशोरी तथा महिलाहरुमाझ गुणस्तरीय स्वच्छ प्याडको पहुंच सजिलै पुराउन सकियोस् र विश्वव्यापी साझेदारीहरुको विकास गराई महिनावारी भएका नारी र किशोरीहरुको लागि कलंक र सिमितता हटाउनको लागि यस्ता कार्यक्रमहरुले सहयोग पुराउने डेज फर गल्स नेपालको कार्यकारी निर्देशक मायादेवी खाइतुले बताउनुभयो ।
आफुहरुले गाउँ गाउँमा र विभिन्न विद्यालयहरूमा गएर डिएफजी प्याड बनाउने प्रशिक्षण दिँदै उनीहरुलाइ निःशुल्क प्याड वितरण गरिएको र यस्ताखाले प्याड ३ वर्ष सम्म प्रयोग गर्न मिल्ने डेज.फर.गल्स धादिङका अध्यक्ष विमला ढकालले बताउनुभयो ।
त्यस्तै नीलकण्ठ नगरपालिकाको कार्यपालिका सदस्य चिना माया श्रेष्ठले आगमी दिनमा यस संस्थाले नगरपालिका समक्ष यस्ता किसिमका कार्यक्रम तथा तालिमहरुका लागि प्रस्तावना पेश गरेमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा आफ्ना छोरी चेली र समाजका महिला दिदि वहिनीहरुलाई यस डिएफजी प्याडको बारेमा चेतना कसरी फैलाउन र त्यसको प्रयोग गर्नकालागि कसरी मनाउन सकिन्छ र यस कार्यका लागि कार्यपालिका, नगर पालिका र स्थानीय तहहरूले कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
स्थानीय महिला तथा किशोरीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उत्पादन गरिएको डिएफजी प्याडलाई सबै सामु पुराउनको लागि सबै तहका सरकारले समन्वय सहकार्य गर्न आवश्यक रहेको सहभागीहरुो भनाई छ ।
मानव अधिकारको लागि महिला अधिकारी कर्मी कल्पना अधिकारीको अध्यक्षता नीलकण्ठ नगरपालिकाका शिक्षा अधिकृत नारायण प्रसाद वाग्लेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । जसको विशेष अतिथिहरूमा नीलकण्ठ नगर पालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद रिजाल,कार्यपालिका सदस्य चिना माया श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस