धादिङ २७ पुस
माघे संक्रान्तिको अवसरमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाँकोटस्थित भंगेरीथानमा गोरु जुधाई, कृषि तथा हस्तकला प्रदर्शनी मेलाको हुने भएको छ । संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्र धुवाकोटको आयोजना र नीलकण्ठ नगरपालिकाको सहयोगमा मेला सम्पन्न हुन लागेको हो ।
बुधबार धादिङबेसीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको तयारीबारे जानकारी गराएको हो । यस वर्ष धुवाँकोटको भंगेरीमा १७ हल गोरु जुधाइने केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
धुवाँकोटमा परम्परादेखिनै गोरु जुधाइने भएपनि केही समय रोकिएको गोरु जुधाई २०७१ सालदेखि व्यवस्थित रुपमा आयोजना गर्दै आएको श्रेष्ठले बताउनुभयो । गोरु जुधाउनको लागि पहिलो, दोस्रो र तेस्रो समूहमा विभाजन गरिएको छ । गोरुको उमेर, मोटाई र क्षमता हेरेर चार समुहमा विभाजन गरिएको केन्द्रका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
।
धुवाकोटमा पर्यटन प्रवर्द्धन तथा स्थानीय कृषि उत्पादनको प्रवर्द्धनमा समेत सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको केन्द्रका सदस्य सुमन अधिकारीले बताउनुभयो ।
पहिलो समूहमा ३ हल गोरु, दोस्रो समूहमा ६ हल र तेस्रो र चौथो समुहमा ४र४ हल गोरु रहनेछन् । पहिलो समूहको विजेता गोरु धनीले १२ हजार, उपविजेता गोरु धानीले १० हजार नगद पाउनेछन् ।
दोस्रो समूह विजेता र उपविजेताले १० हजार र ८ हजार, तेस्रो समूहले ८ हजार र ६ हजार पाउनेछन् । त्यस्तै चौथो समुहको विजेता गोरुको धनीले ४ हजार र उपविजेता गोरुको धनीले २ हजार नगद पाउने अधिकारीले बताउनुभयो ।
गत वर्ष जस्तै यस वर्ष पनि धादिङ सहित देशैभर गोरु जुधाई तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि माघेसंक्रान्ति पर्व मनाईदै छ ।
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको किम्बदन्ति रहेको छ । सिंह विसं १९७८ सालमा नुवाकोटको तारुका९५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो ।
प्रतिक्रिया दिनुहोस