प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्कने नेपाली नागरिकले आफूसँग दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्न निर्देशन दिएका छन् । विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध भएपछि प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई पुनः निर्देशन दिएको हो ।
विदेशबाट फर्किँदा दुई वटा मोबाइल ल्याउने विषयलाई सरल र सहज बनाउन नीतिगत जटिलता भए, त्यसलाई फुकाउन समेत प्रधानमन्त्री दाहालले निर्देशन दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोजनका मालवस्तुसम्बन्धी आदेशमा विदेशबाट फर्किने यात्रुले एउटा मात्रै मोबाइल ल्याउन पाउने व्यवस्था छ । त्यहीं व्यवस्थालाई देखाएर भन्सारका कर्मचारीले एउटाभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिराउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस