पोखरा, ७ भदौ
नेकपाका नेता एवं पूर्व मन्त्री गंगालाल तुलाधरले कास्कीमा हुने उपनिर्वाचन नेकपा नेतृत्वको सरकारको लोकप्रियता मापन गर्ने मिनी जनमत संग्रह हुने टिप्पणी गरेका छन् । नेकपा धादिङ–पोखरा जनसम्पर्क मञ्चको तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि तुलाधरले दुई तिहाईको नेकपा सरकारलाई जनताले कसरी हेरिरहेका छन् ? यसलाई जाँच्ने जनमत संग्रहका रुपमा कास्कीको उपनिर्वाचन रहेको उल्लेख गरेका छन् ।
नेता तुलाधरले अहिले विभिन्न निहुँमा सरकार विरोधी क्रियाकलाप चर्किएको आभाष भएपनि प्रतिक्रियावादी तत्वहरु मात्र यसरी जाईलागेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका क्रममा यस्ता क्रियाकलाप स्वभाविक भएको भन्दै उनले सरकारले राम्रो काम गरिरहेको जिकिर गरे । केही व्यक्तिहरु अर्कै मञ्च बनाउँछु भन्दै हिँडिरहेको तर्फ इंगित गर्दै उनले यसरी छिन्नभिन्न भएर व्यक्तिगत लाभ र पदका लागि पार्टीको साथ नरहने स्पष्ट पारे ।
गण्डकी प्रदेश सभा सदस्य एवं नेकपा कास्कीका नेता रामजी बराल जीवनले पार्टी एकीकरण भईसकेकाले पार्टी जस्तै ठूलो मन लिएर कार्यकर्ताहरु एकसाथ अघि बढ्न सुझाव दिए । नेकपा कास्कीका सचिव बखान सिंह तमुले कामको सिलसिलामा जहाँ रहेपनि आफ्नो पार्टीप्रतिको निष्ठा र समर्पण नछाडेको भन्दै पछिल्लो क्रममा सक्रिय गतिविधिका साथ मुलुकका सम्पर्कमञ्च मध्ये धादिङ–पोखरा सम्पर्क मञ्चले पनि आफूलाई स्थापित गरेको बताए ।
नेकपा प्रदेश नं. ३ सदस्य रामबहादुर भण्डारीले एकीकृत पार्टी जनचाहना अनरुप नै अघि बढेको उल्लेख गर्दै सबैको सहयोग रहनुपर्ने बताए ।
धादिङ निलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले कामको सिलसिलामा पोखरा आएर पनि आफ्नो पार्टी र जिल्लालाई मजबुत बनाउन धादिङेले खेलेको भूमिकाको प्रशंसा गरे । नेकपा धादिङ पोखरा जनसम्पर्क मञ्चका संयोजक वीरबहादुर थापा (अर्जुन) को अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका तर्फबाट रामकृष्ण दुवाडी र बेनी पाठक, महिलाहरुको तर्फबाट सदस्य सरस्वती श्रेष्ठ सरु, पत्रकारहरुका तर्फबाट धादिङ पोखरा पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारीले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सहसंयोजक रेशम सिंखडा (गोपाल) ले स्वागत मन्तव्य, कार्यक्रम संयोजक ईश्वरकुमार श्रेष्ठले धन्यवाद ज्ञापन र सचिव कृष्ण धरेलले सञ्चालन गरेका थिए । उक्त अवसरमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट तथा दर समेत खुवाइएको थियो ।
प्रतिक्रिया दिनुहोस