धादिङ ०३ पुस
धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ३ मूलपानीको वृद्ध दम्पत्तीको हत्या गरी फरार रहेका दुइ बालकलाई प्रहरीले पक्राउ गरेको छ । मोवाईल चोरी गरी वृद्ध दम्पतीको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले आइतबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न दुई जना बालक विरुद्ध ५ दिन म्याद थप गरि हिरासतमा राखिएको जनाएको छ ।
पहरीले पक्राउ गरेका स्थानीय १५ र १३ वर्षीय बालकलाई पुस १ गते शुक्रबार देखि लागु हुने गरि हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थप भएको अवधिमा घटनाबारे विस्तृत अनुसन्धान हुने प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक राकेश सिंहले बताउनुभयो ।
मुलपानीको आहालेगाउँका ७४ वर्षिय बलबहादुर आलेमगर र ६७ वर्षिय निरमाया आलेमगरको मंसिर २६ गते सोमबार विहान घरमै शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीको टोलीसहित केन्द्रिय अनुसन्धान व्यूरोको ३० जनाको टोलीले अनुसन्धान थालेको थियो ।
घटनास्थलमै बसेर अनुसन्धानमा खटिएका प्रहरी टोलीले स्थानीय दुई बालकलाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान पछि हत्या गरेको पुष्टि भएको एसपी सिंहले बताउनुभयो । वृद्ध दम्पत्तीलाई बन्चरो प्रयोग गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । चोरी गरेको मोबाइल र वारदातमा प्रयोग गरेको बन्चरो प्रहरीले बरामत गरेको छ ।
प्रतिक्रिया दिनुहोस