धादिङ ०१ पुस
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीमा भएको वृद्ध दम्पत्ति हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुलपानीको आहालेगाउँका ७४ वर्षिय बलबहादुर आलेमगर र ६७ वर्षिय निरमाया आलेमगरको हत्या गरिएको अवस्थामा घरमै शव भेटिएको थियो ।
घटनास्थलमै बसेर अनुसन्धानमा खटिएका प्रहरी टोलीले स्थानीय दुई बालकलाई शुक्रबार नियन्त्रणमा लिएको हो । मंसिर २६ गते सोमबार विहान घरमै शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीको टोलीसहित केन्द्रिय अनुसन्धान व्यूरोको ३० जनाको टोलीले अनुसन्धान गरेको थियो । स्थानीयका अनुसार प्रहरीले नियन्त्रणमा लिएका एक जना कक्षा ८ र अर्का कक्षा ६ मा अध्ययनरत बालक हुन् ।
उनीहरुसँग हत्या भएको दम्पत्तिले चलाउँदै आएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ । नियन्त्रणमा लिएका दुबैजनामाथी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो । दुबै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस