धादिङ ०१ पुस
धादिङको नीलकण्ठ नगरपालिका ईसाइ समाजको आयोजनामा क्रिसमस विशेष तथा अंग्रेजी वर्ष २०२३ शुभारम्भको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका ईसाइ समाजका अध्यक्ष टेक बहादुर तामाङको सभापतिमा सम्पन्न कार्यक्रममा संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्य रहेको थियो भने बागमती प्रदेशसभा सदस्य गोविन्द लम्साल,निलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको विशेष अतिथ्यता रहेको थियो ।
धादिङ ईसाइ समाजका अध्यक्ष लेख बहादुर तामाङले क्रिस्चियन धर्मलाई सरकारले अझैपनि सबै धर्महरुले पाउने विधिगत अधिकारहरुबाट बञ्चित गरिएको बताउनुभयो । व्यवाहारिक रुपमा क्रिस्चियन धर्मलाई संस्थागत रुपमा विकास नगरेको भन्दै जनप्रतिनिधीहरुले कानुनी रुपमा पहल गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा ४ बुदे माग सहित नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मालाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा क्रिसमस डे डिसेम्बर २५ तारिखका दिन हरेक वर्ष सार्वजानिक विदा दिनुपर्ने, इसाईहरुको पार्थिव शरिर आफ्नो धार्मिक विधि अनुसार दफन गर्नलाई जग्गाको व्यवस्था गर्नुपर्ने, नगरपालिका अन्तर्गत चर्च भवनहरुको विकासमा वजेट विनियोजन गर्नुपर्ने ,क्रिसमस डे मा सबै शैक्षिक संस्थाको परीक्षा सञ्चालन कम्तीमा एक हप्ता अगाडी वा पछाडि गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि रामनाथ अधिकारीले मुलुकको हरेक ऐतिहासिक राजनैतिक आन्दोलनबाट प्राप्त भएको व्यवस्था भएकाले संविधानसंवत सबै धर्म जातजाती नागरिकहरुले समान अधिकार पाउनु सबै धर्म संस्कारको अधिकार रहेको बताउदै यसको संरक्षण विकासमा आफु प्रतिबद्ध रहको बताउनुभयो ।
मुलुकका राजनैतिक आन्दोलनहरुमा आफु पटक पटक जेल परीरहँदा देशका अधिकांश नागरिकहरुले धर्मको नाममा वर्षौसम्म जेलजिवन बिताउनु परेको स्मरण गर्दै जनताले दिएको अभिमतको कदर गर्दै संविधानको एक एक धाराका कानुनहरुलाई व्यवहारमा लागु् गर्ने पक्षमा आफ्नो भूमिका संसदमा रहने समेत स्पष्ट पार्नुभयो ।
त्यस्तै विशेष अथिति गोविन्द लम्सालले सबै वर्ग पक्षको समुन्नत सुसंस्कृत विकास र सम्वृद्धि आगाडी बढ्ने बताउनुभयो । त्यस्तै उपमेयर दिपक विश्वकर्माले क्रिसमस तथा सन् २०२३ को शुभकामना दिदैँ सबै मागहरुलाई आवश्यक छलफल गरि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्लाभरिका विभिन्न मण्डलीका पास्टर तथा अगुवा, पत्रकारहरु नगरपालिकाका वडा अध्यक्षहरु र इसाई विश्वासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस