धादिङ २९ मंसिर
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानि स्थित आहालेमा दम्पती मृत भेटिए । मङ्सिर २६ मा बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका हुन् । बिहान ८ बजे दम्पती मृत अवस्थामा देखेपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
दम्पतीको शरीरमा चोट देखिएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरूको हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले बताउनुभयो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको अनुसन्धानमा सुरु गरेको छ । अनुसन्धान गर्न ब्युरोको टोली धादिङ पुगेको बागमती प्रदेशकी डीआईजी किरण बज्राचार्यले बताइन् । जिल्लाका उत्तरी क्षेत्र बस्ने आहालेका दम्पतीलाई उनीहरूकै घरमा हत्या गरेर आरोपीहरू लुटेर भागेको आशङ्का गरिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार हत्याराले गहना लुटपाट गरेको खुलेको छ ।
काठमाडौँको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम पछि दम्पतीको दाहसंस्कार गरिएको छ । विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा भेटिएको थियो । उनको निधारमा र दाहिने आँखामाथि चोट छ । निरमाया घरभित्रै मृत अवस्थामा भेटिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस