राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बुधबार सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराएका छन् ।
युवराज सफलका नामले चिनिने युवराज पौडेलले बुधबार रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वासघातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलका अनुसार पौडेलको रिट ०७९–धअ–००३६ मा दर्ता भएको छ । पौडेलको रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था विपरीत उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै लामिछानेविरुद्ध रिट दर्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस