धादिङ २७ मंसिर
आसमान नेपाल, शिक्षा पत्रकार समाज, भि.एस.ओ र युके.एडको संयुक्त साझेदारीमा मंगलबार धादिङबेशीमा आयोजित जिल्ला स्तरीय सिकाई आदान प्रदान कार्यशाला तथा बालिका शिक्षाको नितिगत पैरवी तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । परियोजना अन्तर्गत क्रियाकलापको प्रगती प्रतिवेदनमा जिल्लाको बिभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको ‘किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम’ प्रभावकारी बन्दै गएकोे प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम उद्धेश्य अनुसार अगाडी बढीरहेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुहुँदै पछिल्लो समय नितिगत भन्दा व्यवहारिक पक्ष कमजोर बन्दै गएकाले जिम्मेवार निकायहरुले गैरजिम्मेवार काम नगर्न अनुरोध गर्नुभयो ।त्यसैगरी जिल्ला समन्वयका उपप्रमुख कुलमान वि.कले महिलालाई सशक्तिकरण र सक्षम बनाउने भएकोले शिक्षामा नै जोड दिनु पर्ने बताउदै स्थानीय, प्रदेश र संघ सरकारले गर्नुपर्ने काम परियोजनाले गरेको बताउँदै निरन्तरता दिन आग्रह गर्नुभयो ।
जिल्ला शिक्षा समन्वय ईकाई धादिङका कृष्णकुमार श्रेष्ठले अन्य पालिकाहरुसंग पनि सहकार्य गरेर यस्ता किसिमको परियोजना संचालन गर्नु पर्ने बताउनुभयो । नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले परियोजनालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आसमान नेपालकी कृती केशरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, सहयात्री समाजकी राधिका सापकोटा,दलित सेवा संघ धादिङका अध्यक्ष श्याम मगराती, बिभिन्न पालिकाका शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधी, बिभिन्न बिद्यालयका प्रअ तथा शिक्षक लगायतले आ आफ्ना धारणा राख्नुभएको थियो भने कार्यक्रम संचालन शिक्षापत्रकार धादिङका संयोजक सिताराम अधिकारीले गर्नुभएको थियो । भि.एस.ओ. र आसमान नेपालको संयुक्त साझेदारीमा धादिङको बिभिन्न १२ बिद्यालयमा किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम संचालन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस