धादिङ २६ मंसिर
धादिङ अस्पतालको ४६ औँ स्थापना दिवसको अवसरमा वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । आज सोमवार अस्पतालमा आयोजित कार्यक्रमका बिच अस्पतालमा ग्रामिण टेलिकार्डोलोजी सेवा शुभारम्भ गरिएको छ भने असल छिमेकी नेपालको सहयोगमा स्थापित प्रेषण केन्द्रको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि समेत रहनु भएका मन्त्री लामाले बागमती प्रदेश सरकारले धादिङ अस्पताललाई पहिलो प्राथमिकतामा राखेको भन्दै स्वास्थ्य क्षेत्रको विकासका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धमला, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.मधुकर दाहाल र सूचना अधिकारी विक्रम वि.क ले अस्पतालको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
साथै कार्यक्रमको अवसर पारि अस्पतालमा लामो समय काम गरेका कर्मचारीहरु, उत्कृष्ट काम गर्ने कर्मचारी, अस्पताललाई सहयोग गर्ने संघ सस्था र सेवा निवृत कर्मचारीहरुलाइ सम्मान गरिएको थियो ।
यसैगरी अस्पतालमा नागरिक सहायता कक्ष तथा अस्पताल सुरक्षागार्ड कक्ष भवन उद्घाटन गरिएको छ । धादिङ अस्पताल तथा धादिङ सोसियल भोलेन्टियर नेपालको सहकार्यमा निर्माण गरिएको उक्त नागरिक सहायता कक्ष तथा अस्पताल सुरक्षागार्ड कक्षबाट नागरिकहरुले सहज रुपमा सेवा लिन पाउने अस्पतालले जनाएको छ ।
पछिल्लो समय धादिङ अस्पतालमा बिभिन्न जटिल रोगको उपचार र शल्यक्रियासमेत हुन थालेको छ । पहिले अस्पतालमा पर्याप्त स्रोतसाधन र जनशक्तिको व्यवस्थापन नहुँदा असामान्य उपचारका लागि पनि अन्यत्र धाउनुपर्ने बाध्यता रहेको थियो । अहिले अस्पतालले गम्भीर प्रकृतिका हाडजोर्नी अप्रेसन, हेमो डायलासिस समेत गर्न थालेको छ ।
पर्याप्त भौतिक संचरना र दक्ष जनशक्तिको अभावका बीचपनि अस्पतालले अहिले सिएस सेवादेखि डेन्टल र फिजियोथेरापीसम्मको सेवा प्रवाह गरिरहेको छ ।
५० शैयाको अनुमति पाएको अस्पतालले अहिले ८५ वटा बेडमा उपचार गरिरहेको छ । दैनिक २ सय ५० भन्दा बढी बिरामीलाई सेवा दिइरहेको धादिङ अस्पतालमा ७ जना विशेषज्ञ चिकित्सक र १५जना मेडिकल अधिकृत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस