धादिङ २१ मंसिर
जिल्ला भलिबल संघ धादिङको आयोजनामा आज (बुधबार) देखी जिल्ला स्तरीय प्रथम पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले आज एक विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
आज भएको लिग चरणको खेलमा पहिलो खेल भलिबल ट्रेनिङ सेन्टर धादिङ र ज्वालामुखी गाउँपालिका बी बीच भएको थियो जसमा ज्वालामुखी गाउँपालिका बी विजयी भएको छ ।
यस्तै दोस्रो खेल गल्छी गाउँपालिका र खनियाबास गाउँपालिका बीच भएको थियो जसमा गल्छीलाई हराउँदै खनियाबास विजयी भएको छ भने तेस्रो खेल नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिका बीच भएको थियो जसमा सिद्धलेक गाउँपालिका विजयी भएको छ ।
प्रतियोगिताको दोस्रो दिन भोली (बिहिबार) पहिलो खेल गंगाजमुना गाउँपालिका र भलिबल ट्रेनिङ सेन्टर धादिङ बीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ८ बजे हुने छ ।
दोस्रो खेल ज्वालामुखी गाउँपालिका र रुबीभ्याली गाउँपालिकाका बीचको बिहान ९ बजे हुने छ । प्रतियोगितामा जिल्लाका ९ वटा टिमले प्रतिपर्धा गर्ने छन् । मंसिर २१ गतेबाट सुरु भएको प्रतियोगिता मंसिर २४ गतेसम्म चल्ने छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्धितीय हुने टिमले नगद ५० हजार ५५५ र तृतीय हुने टिमले २० हजार २२२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ भने बेष्ट सटर, सर्वर, प्लेयर, ब्लकर र स्पाईकरले ट्रफि र प्रमाणपत्र पाउने छन् ।
प्रतिक्रिया दिनुहोस