धादिङ २० मंसिर
जिल्ला भलिबल संघ धादिङको आयोजनामा मंसिर २१ गते देखी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
सदरमुकाम धादिङबेशीस्थित कभर्डहल सँगैको खेलमैदानमा हुने उक्त प्रतियोगिताको भोलि बुधबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले उद्घाटन गर्ने जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभएको छ ।
भलिबल खेलको प्रबद्र्धन र विकास गरी जिल्लाका खेलाडीहरु पहिचान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुन जिल्लाका बिभिन्न सात टिम सम्पर्कमा रहेको र अझै २–३ टिम बढ्ने गुरुङले बताउनुभयो । प्रतियोगितामा खेलाडी एउटै पालिकाको हुनु पर्ने अध्यक्ष गुरुङको भनाई छ ।
प्रतियोगिताको टाईसिट आज नै बन्ने भएकोले सबै टिमलाई आयोजकसँग सम्पर्क गर्न र भोलि हुने मार्चपासमा सबै टिमका खेलाडी सहभागी हुन अध्यक्ष गुरुङले आग्रह गर्नुभएको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्धितीय हुने टिमले नगद ५० हजार ५५५ र तृतीय हुने टिमले २० हजार २२२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ भने बेष्ट सटर, सर्वर, प्लेयर, ब्लकर र स्पाईकरले ट्रफि र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा सहभागि हुन एक टिममा १२ जना, टिम कोच १–१ जना र १ टिम म्यानेजर हुनुपर्ने, खेलाडीको जर्सिमा अगाडी पछाडी अनिवार्य नम्बर लेखेको हुनुपर्ने र लिब्रोको जर्सीको रङ अरु खेलाडीको भन्दा फरक हुनुपर्ने प्रावधान रहेको जिल्ला भलिबल संघले जनाएको छ।
मंसिर २१ गते देखि सुरु हुने उक्त प्रतियोगिता चार दिनसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस