धादिङ १५ मंसिर
जिल्ला प्रहरी कार्यालय धादिङमा महिला हिंसाका उजुरी दर्तामा कमी आएको छ । जिल्लामा गत ३ आर्थिक वर्षको तुलनामा महिला हिंसाका घटनाको उजुरी क्रमश घट्दै गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रवक्ता खत्रीका अनुसार धादिङ प्रहरीमा आर्थिक वर्ष २०७६/०७७ मा २१२ वटा मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष ७७/०७८ मा १९५ र ०७८/०७९ मा ७८ वटा मुद्धा दर्ता भएको छ । आ.व. २०७९/८० को साउनदेखि हालसम्म २८ वटा निवेदनहरु प्रहरी कार्यालयमा दर्ता भएको छ ।
जसमध्ये १५ वटा मिलापत्र गरिएको, ९ वटा बाँकी रहेको र ४ वटा सम्बन्धित कार्यालयमा पठाएको खत्रीको भनाई छ । जिल्लामा सबैभन्दा बढी घटनाहरु आत्महत्या, दोस्रोमा जबरजस्ती करणी र तेस्रोमा बहुबिबाह देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) खत्रीले बताउनुभयो ।
चालु आ.व. को साउनदेखि यता हालसम्म आत्महत्या २२ वटा, जबरजस्ती करणी २२ वटा र बहुबिबाहको ३ वटा मुद्धा दर्ता भएको छ ।
अहिले विश्वव्यापी रुपमा मनाउँदै आएको लैङ्गिक हिंसाको १६ दिने अभियान चलिरहेको छ । लैङ्गिक हिंसा र घरेलु हिंसालाई न्युनिकरण गर्ने उद्धेश्यले १६ दिनसम्म जिल्लाका सबै क्षेत्रहरुमा लैङ्गिक हिंसा विरुद्धका सचेतनात्मक कार्यक्रमहरु संचालन गर्ने खत्रीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस