धादिङ १४ मंसिर
धादिङ जिल्लामा यस बर्ष मात्रै सम्बन्धन प्राप्त गरेको नीलकण्ठ वहुप्राविधिक शिक्षालयमा आजबाट नियमित कक्षा संचालनमा आएको छ ।नीलकण्ठ नगरपालिका वडा न ४ खानीगाउँमा रहेको बहुप्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङ (हाईड्रो) र अटोमोवाईल इन्जिनियरिङमा बुधबारदेखि औपचारिक रुपमा कक्षा संचालन भएको छ ।
कक्षा संचालनको पहिलो दिनमा अवलोकनका लागी पुग्नुभएका नीलकण्ठ नगरपालिकाका शिक्षा शाखाका प्रमुख नारायण प्रसाद वाग्लेले शिक्षालयलाई ब्यवस्थित गर्ने तर्फ नगरपालिकाको चिन्ता र चासोको बिषय भएको बताउनुभयो । उहाँले प्राविधिक शिक्षा विशिष्ट किसिमको शिक्षा भएकोले पढ्ने र सिक्ने बिषयमा विद्यार्थीहरुले पनि मेहनत गर्नुपर्ने बताउनुभयो।
त्यस्तै नीलकण्ठ नगरपालिकाका कार्यबहाक मेयर दिपक विश्वकर्माले लामो मेहनत र सघर्ष पछि बहुप्राविधिक शिक्षालय सन्चालनमा ल्याएको भन्दै यसलाई थप व्यवस्थित बनाउन लागि पर्ने बताउनुभयो । सोहि अवसरमा विश्वकर्माले पहिलो ब्याचका बिद्यार्थीहरुलाई विद्यालयको नाम राख्ने गरी अध्ययन गर्नको आग्रह समेत गर्नुभयो।
शिक्षालयमा सिभिल इन्जिनियरिङ हाईड्रो तर्फ ३६ जना र अटो मोवाईल इन्जिनियरिङमा १५ जना बिद्यार्थीहरुले भर्ना भई अध्ययन शुरु गरेका छन् । शिक्षालयमा हाल डोल्पा, सर्लाही, महोत्तरी,गोरखा र धादिङ जिल्लाका बिभिन्न स्थानबाट आएका विद्यार्थीहरु अध्ययनरत रहेको शिक्षालय प्रमुख विदुर काफ्लेले जानकारी दिनुभयो । नीलकण्ठ नगरपालिकाले प्रत्येक वडाबाट कम्तीमा २ जना पर्ने गरी २८ जना बिद्यार्थीहरुलाई यस बर्ष छात्राबृद्धिको समेत ब्यवस्था गरेको थियो ।
तस्विर -धादिङसंञ्चार
प्रतिक्रिया दिनुहोस