धादिङ ०७ मंसिर
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही कलाकार पनि चुनावी मैदानमा छन् । कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् ।
मतगणना भइरहेको उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बनाइरहेका छन् । हिमेश सुरुवातदेखि नै तेस्रो स्थानमा छन् । पछिल्लो मत परिणाम अनुसार उनी पाण्डेभन्दा ९ हजार भन्दा बढी मतले पछाडि छन् ।
मत परिणाममा पछि परेपछि पन्तले दूरदराजका मतदाताको चेतनास्तरमाथि नै टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राजमार्ग क्षेत्र र नगरपालिका क्षेत्रका मतदाता बुझ्ने भएपनि गाउँ र लेकका मानिसको चेतनास्तरमा सुधार नआएकाले आफूले कम पाएको टिप्पणी गरेका छन् ।
देशका प्रमुख सहरी क्षेत्रमा रास्वपाले अग्रता लिइरहेका बेला आफू पछि परेपछि आक्रोश पोख्दै पन्तले विना संगठन आफूले सम्मानित मत पाएको बताएका छन् ।
यस्तो छ उनको स्टाटस
करोडौं करोड खर्च गरेर चुनाव लड्नेहरुसँग २–४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन। धादिङ क्षेत्र नं १ मा ५ ओटा गाउपालिका र १ ओटा नगरपालिका छ। हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएतापनि पहाड, गाउँ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन । हामी प्रचार–प्रसारमा हिँड्दै गर्दा ‘जस्ले दिन्छ नोट, उसैलाई भोट।’ भनेको पनि धेरै नै सुन्न पाइयो । कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्।’ सम्म भन्न भ्याए। धादिङ कुनै पनि हालतमा काठमाडौ जस्तो हुँदै हैन। निर्वाचन आयोगले दिएको १२–१३ दिनको प्रचार–प्रसारमा ५३ ओटै वडामा पुग्नु असम्भव मात्रै हैन अकल्पनीय थियो । म यत्ति भन्न सक्छु हामीले ल्याउँदै गरेको भोट ः मासुभातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डर–धम्कीबाट आएको भोट हैन । विना–संगठन, विना गठबन्धन, बिना पैसा, बिना अनुभव ‘मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भिड्ने दम कुनै युवामा थियो रुरु’ सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो । जग हाल्ने कामको थालनी भएको छ। हाम्रो सम्मानित मत आउँदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरुको मनभित्र ढ्याङ्ग्रो बजेको छ। यहि नै हाम्रो ठुलो उपलब्धि हो ।
प्रतिक्रिया दिनुहोस