धादिङ १२ वैशाख
यही वेशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी दर्ताको आज अन्तिम दिन धादिङका १३ वटै पालिकामा राजनैतिक दलहरुले उम्मेद्वारी दर्ता गराएका छन् । दलहरुको आन्तरिक रुपमा आकांक्षी धेरै भएका र आन्तरिक सहमती हुन नसक्दा अन्तिम अवस्थामा आएर स्थानीय निर्वाचन कार्यालयमा दलहरुले उम्मेद्वारी दर्ता गराएका हुन् ।
५ दलीय सत्ता गठबन्धनले अधिकांश ठाउँमा गठबन्धनकै उम्मेद्वार उठाएता पनि कतिपए पालिकामा एक्ला एक्लै उम्मेद्वारी दिएको छ भने नेकपा एमालेले सबै पालिकामा एक्लै उम्मेद्वारी दिएको छ । स्थानीय तहका प्रमुखदेखि वडा तहसम्म धेरै जसो पुरानै अनुहार दोहोरिएका छन् । जिल्लाको २ नगरपालिका नीलकण्ठ र धुनिबेसीको प्रमुखमा क्रमश. भिम प्रसाद ढुङ्गाना र बालकृष्ण आचार्यले उम्मेद्वारी दिनुभएको छ ।
उहाँहरु यसअघि पनि मेयर नै हुनुहुन्थ्यो । यस्तै सिद्धलेक गाउँपालिकामा पालिका अध्यक्ष उपाध्यक्षले नै सोही पदमा उम्मेद्वारी दिनुभएको छ । गल्छी गाउँपालिका अध्यक्षमा कृष्णहरि श्रेष्ठ, गजुरी गाउँपालिका अध्यक्षमा राजेन्द्र विक्रम बस्नेत, खनियाबास गाउँपालिका अध्यक्षमा रण बहादुर तामाङ, गंगाजमुना गाउँपालिका उपाध्यक्षमा एन्जिला तामाङ, थाक्रे गाउँपालिका उपाध्यक्षमा अम्बिका रुपाखेतीले यसअघिकै पदमा पुनः उम्मेद्वारी दिनुभएको हो भने बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष देवी प्रसाद सिलवाल र नेत्रावत्री डबजोङ गाउँपालिका उपाध्यक्ष उर्मिला तामाङले अध्यक्षमा उम्मेद्वारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस