धादिङ ०५ पौष
धादिङको नेत्रावती डबजोङ गाउपालिका–४, सेल्लेमा आयोजित दोस्रो प्रदिप स्मृति कप फुटबल प्रतियोगिताको उपाधी चरङ्गे युवा क्लबले हात पारेको छ । आयोजक छोइलिङ युवा क्लवलाई २–४ गोल अन्तरले पराजित गर्दै चरङ्गे युवा क्लवले जित हासिल गरेको हो । जिल्लाभित्रका विभिन्न १९ वटा टिमको सहभागिता रहेको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
बागमती प्रदेशका उप–सभामुख राधिका तामाङको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रममा माओवादी केन्द्र धादिङका सह–इन्चार्ज रामबहादुर भण्डारी, प्रदेश खेलकुद परिषदमा सदस्य सचिव, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रमको अवसरमा प्रमुख अतिथि एवं बागमती प्रदेशका उप–सभामुख राधिका तामाङले प्रतियोगिताको विजेता चरङ्गे युवा क्लबलाई रु.५० हजार, उपविजेता छोइलिङ युवा क्लवलाई रु. ३० हजार र सेमीफाईनलमा रोकिएका डीएफसी र ब्रादी युवा क्लवलाई ८–८ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस