धादिङ १२ मङ्सिर
जिल्ला निर्वाचन कार्यालय धादिङले आइतबार मतदाता नामावली संकलन सम्बन्धमा जिल्लाका सरोकारवालाहरसँग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । यही मङ्सिर १७ गतेदेखि पौष ८ गतेसम्म धादिङका १३ वटै स्थानीय तहमा २ चरणमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ ।
सोही सम्बन्धमा जिल्लाका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायत सरोकारवालाहरुसँग नामावली संकलन कार्यलाई थप सहजीकरण गर्नको लागि अन्तरकृया कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रतिनिधिहरुले स्थानीय तहका हरेक वडाहरुमा गएर नागरिकहरुको मतदाता नामावली संकलन गर्न अनुरोध गरेका छन् ।
यही मङ्सिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको रुवीभ्याली, गंगाजमुना, सिद्धलेक, गजुरी, ज्वालामूखी र धुनिबेसी नगरपालिकामा मतदाता नामावली संकलन हुँदै छ भने मङ्सिर २८ गतेदेखि पौष ८ गतेसम्म त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, खनियाबास, बेनिघाट रोराङ, थाक्रे र गल्छी गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस