फाइल तस्विर
धादिङ १५ कार्तिक
धादिङको प्रशिद्ध तिर्थस्थल गङ्गाजमुना माई मन्दिरमा यही कार्तिक २८ गते गंगाजमुना मेला हुन लागेको छ । कलाकार कृष्ण कंडेल नेतृत्वका इन्दे्रणी टोलीको विशेष मनोरञ्जनात्मक प्रस्तुति सहित मेला आयोजना गर्न लागिएको मेला आयोजक मूल समारोह समितिका संयोजक एवं गंगाजमुना गाउँपालिका अध्यक्ष बल बहादुर अधिकारीले जानकारी दिनुभयो ।
गाउँ कार्यपालिकाको बैठकले मेलालाई भव्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमिति समेत निर्माण गरेको छ । उप समितिहरुमा वडा नं. ७ का अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा आर्थिक उप–समिति, वडा नं. ६ का अध्यक्ष भक्त बहादुर लामिछानेको अध्यक्षतामा स्वयंसेवक परिचालन उप–समिति, वडा नं. ४ का अध्यक्ष हरिमान श्रेष्ठको अध्यक्षतामा खाद्य व्यवस्थापन उप–समिति, वडा नं. २ का अध्यक्ष फैसिङं तामाङको अध्यक्षतामा प्रचार प्रसार उप–समिति, वडा नं. ३ का अध्यक्ष विजय कुमार गुरुङको अध्यक्षतामा सरसफाइ, मर्मत संभार तथा खानेपानी उप–समिति, गाउँ कार्यपालिका सदस्य रत्नमाया घलेको अध्यक्षतामा अतिथि सत्कार उप–समिति, वडा नं. ५ का अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा पूजा तथा मञ्च व्यवस्थापन उप–समिति र शुसिल गुरुङको अध्यक्षतामा पार्किङ व्यवस्थापन उप–समिति गठन गरिएको हो ।
गंगाजमुना माईको धार्मिक महत्त्व
धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित गंगाजमुना झरनामा हरेक वर्ष हरिबोधनी एकादशीको अवसर मेला लाग्ने गर्दछ ।
ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरनामा गएर नुहाउने तथा मनले चिताएको पुरा होस् भनेर आर्शिवाद माग्ने प्रचलन रहिआएको छ । सो झरना ३ सय मिटर माथिबाट झरेको छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजा आजा गर्ने प्रचलन पनि रहेको छ । मेलामा स्नान गरी पूजा गर्ने, बत्ती बाल्ने, फुलको डोली लैजाने गर्दछन् ।
गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ । भक्तजनहरुले गंगा–जमुना कुण्डमा नुहाउँदा रोगब्याधी निको हुने र परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक बिश्वास रहि आएको छ ।
गंगा जमुना झरनासँगै रहेको कुकुर धारोमा गएर नुहाउनेहरुको पनि भीड हुने गर्दछ । विशेष गरी वर्षभरी कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि भन्दै कुकुरधारोमा गएर नुहाउने प्रचलन रहेको छ ।
यस मन्दिरमा बली नचढ्ने हुनाले भाकलका लागि पुगेकाहरुले जिउँदो परेवाहरु उडाउने गर्दछन् । धार्मिक तथा पर्यटकीय हिसावले निकै महत्वपूर्ण र आकर्षक भएपनि त्यस ठाँउसम्म पुग्नका लागि सडक सञ्जालको कठिनाई छ ।
यस मेला भर्न धादिङ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा तनहुँ कास्की, काठमाडौंबाट भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । हरिबोधनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पुजा हुने गरेपनि गंगाजमुनामा भने महादेवको पूजा हुने गरेको छ ।
गंगाजमुना मेला भर्न गएकाहरु अघिल्लो दिन रातभर जाग्राम बसी भोलिपल्ट बिहानै झरनामा नुहाएर नारायणको पूजाआजा गरी फर्कन्छन् । भौगोलिक हिसावले विकट स्थानमा रहेको गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस