धादिङ २९ श्रावण
जिल्ला प्रहरी कार्यालय धादिङले ५० वर्षदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । धादिङको चैनपुर–३ बस्ने ठ्यामे भन्ने हुतराज छत्कुलीले २०२६ साल माघ १० गते खुकरी हानी घाइते बनाएर फरार भएका थिए ।
जिल्ला अदालत धादिङले ज्यान मार्ने उद्योगमा १० वर्ष कैद फैसला सुनाएका छत्कुली फरार भएका थिए । छत्कुलीलाई बुधबार प्रहरीले चितवनको खैरहनी नगरपालिका वडा नं. १२ बाट पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको प्रहरी प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिनुभएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय धादिङले फैसला कार्यान्वयनकै शिलशिलामा श्रावण १ गतेदेखि हालसम्म १० जना प्रतिवादीहरुलाई पक्राउ गरी अदालत समक्ष पेश गरेको छ । जसअनुसार वैदेशिक रोजगार ठगी मुद्धामा १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना सजाय तोकिएका नीलकण्ठ–९, मुरलिभञ्ज्याङ बस्ने हरि बहादुर तामाङलाई श्रावण १६ गते प्रक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दामा २ दिन कैद र २ हजार जरिवाना तोकिएका वेनिघाट रोराङ– ६ का अनिल श्रेष्ठ र २ महिना २१ दिन कैदका साथै २ हजार जरिवाना सजाय तोकिएका अमित थापा तथा २१ दिन कैद तोकिएका प्रकाश भुजेललाई श्रावण १७ गते पक्राउ गरिएको हो ।
यसैगरी लागु औषध ब्राउन सुगर मुद्दामा २ हजार जरिवाना र खैरो हेरोइन मुद्दामा ५ वर्ष ४ महिना २० दिन कैद र ५ हजार जरिवाना तोकिएका बेनिघाट रोराङ–७ का नारायण कोइरालालाई पनि श्रावण १७ गते प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
रक्तचन्दन ओसार–पसार मुद्दामा ७० हजार २ सय १० जरिवाना तोकिएका गल्छी गाउँपालिका–७ का भाइराजा श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ भने सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र रु. ५० जरिवाना तोकिएका ज्वालामूखी गाउँपालिका–३ का सुमन मगरलाई पनि पक्राउ गरी अदालत समक्ष पेश गरिएको प्रहरी प्रवक्ता भण्डारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस