धादिङ ०३ पौष
नेपाल डोरी तान संघ धादिङको आयोजनामा भएको विद्यालय स्तरीय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगितामा देउराली माध्यामिक विद्यालय प्रथम भएको छ । हिजोबाट सुरु भएको उक्त प्रतियोगिताको फाइनल खेल आज बिहान सकिएको थियो ।
प्रतियोगितामा चिल्ड्रेनपार्क बोर्डिङ स्कूल द्धितीय र नीलकण्ठ मा.वि. तृतीय भएका छन् । प्रथम द्धितीय र तृतीय हुने समूहहरुलाई क्रमश ः१५ हजार, १० हजार र ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । जिल्लाका १७ वटा माध्यामिक विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगिता धादिङमा पहिलो पटक आयोजना गरिएको नेपाल डोरीतान संघ धादिङका अध्यक्ष अमृत तामाङले जानकारी दिनुभयो ।
पुरस्कार वितरण तथा समापन कार्यक्रमको प्रमुख अतिथि धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङ रहनुभएको थियो । कार्यक्रमलाई संबोधन गर्दै तामाङले हरेक वर्ष यस्ता खाले प्रतियोगिताहरु आयोजना गर्न डोरीतान संघलाई आग्रह गर्दै जिल्ला खेलकुद विकास समितिको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस